पूर्वप्रदेश प्रमुख अहिराजमाथि जाहेरी दिने युवतीविरुद्ध पनि मुद्दा दायर


काठमाडाैं- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (झा) विरुद्ध बलात्कारको उजुरी दर्ता भएपछि  उनले पनि जाहेरी दिने युवतीविरुद्ध आपराधिक लाभको आरोपमा मुद्दा दायर गरेका छन्।

बुधबार काठमाडौं जिल्ला अदालतमा अहिराजको जाहेरीको आधारमा युवतीविरुद्ध मुद्दा दर्ता भएको हो। जाहेरीमा उनले युवतीले मेडिकल शिक्षाका लागि आर्थिक सहयोग मागेको, आफूले अस्वीकार गरेपछि धम्की दिएको र अन्ततः उनको खातामा तीन लाख रुपैयाँ पठाएको उल्लेख गरेका छन्।

यसअघि मंगलबार मात्रै ती युवतीले अहिराजविरुद्ध बलात्कारको उजुरी दिएकी थिइन्। सो उजुरीको आधारमा अहिराजमाथि जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा बुधबार जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सम्पन्न भएको थियो। न्यायाधीश पिताम्बर शर्माको इजलासले अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइसकेको छ।

युवतीले सरकारी वकिलको कार्यालयमा दिएको बयानमा आफूले मुद्दा फिर्ता लिन दबाब दिइएको, २० लाख रुपैयाँको चेक देखाउँदै फकाउने प्रयास भएको तर आफूले नमानेको उल्लेख गरेकी छन्। उनले जिउँदो लासजस्तै बनाउने अहिराजलाई हदैसम्मको सजाय हुनुपर्ने माग गरेकी छन्।

युवतीको भनाइअनुसार, २०८१ साल जेठ ४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित डेरामा बसिरहेको बेला अहिराजले कोही नभएको मौका छोपेर मुख थुनेर जबर्जस्ती करणी गरेका थिए।

 

प्रतिक्रिया