रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित


काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाउने निर्णय गरेको छ। बुधबार काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले अध्यक्ष पदबाट हटाउने प्रस्ताव पारित गरेको जानकारी पार्टीका महासचिव ठाकुरसिंह थारुले दिएका छन्।

श्रेष्ठलाई हटाइएपछि नयाँ अध्यक्ष चयनको विषयमा भेलामा छलफल जारी रहेको उनले जानकारी दिए। यसअघि पोखराको लिचीबारी घुसकाण्डमा श्रेष्ठ मुछिएपछि उनले स्वास्थ्य समस्याको कारण देखाउँदै बास्तोलालाई कार्यबाहक अध्यक्ष तोकेकी थिइन्। तर, पार्टी संरक्षक रेशम चौधरीसहितका नेताहरूले उक्त निर्णयप्रति गहिरो असन्तुष्टि जनाएका थिए।

श्रेष्ठले कार्यबाहक तोक्ने प्रक्रियामा पार्टी विधानको पालना नगरेको आरोप लगाउँदै पार्टीको अनुशासन समितिले कारबाही प्रक्रिया अघि बढाएको थियो। निर्धारित समयसीमाभित्र उनीबाट कुनै स्पष्टीकरण नआएपछि उनलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरिएको हो।

पार्टीले श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई औपचारिक रूपमा पत्रमार्फत जानकारी गराइसकेको छ। उक्त पत्र मंगलबार आयोगमा दर्ता भएको पार्टी स्रोतले जनाएको छ।

 

प्रतिक्रिया