निजामती विधेयक छानबिन समितिको म्याद एक हप्ता थप


काठमाडौं — संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको विषयमा गठित विशेष संसदीय छानबिन समितिको म्याद एक हप्टाका लागि थपिएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकले समितिको कार्यावधि थप गर्न सहमति दिएको हो।

सभामुख देवराज घिमिरेले समितिबाट म्याद थप गर्न सात दिनको प्रस्ताव आएको जानकारी दिए। संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि रहेको भन्ने विषयमा अध्ययन गर्न प्रतिनिधिसभाले गत असार २३ गते विशेष समिति गठन गरेको थियो।

उक्त विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट प्रतिनिधिसभामा पेश गरिँदा अवकाश प्राप्त निजामती कर्मचारीको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा हेरफेर भएको भन्दै त्यसमा अध्ययन तथा छानबिन गर्न विशेष समिति बनाइएको हो।

त्यस्तै, शुक्रबारको बैठकले विभिन्न संसदीय समितिमा रहेका सदस्यहरूको जिम्मेवारी हेरफेरसम्बन्धी प्रस्तावमा पनि सहमति जनाएको छ।

नयाँ जिम्मेवारीअनुसार दिक्पालकुमार शाहीलाई कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट हटाई महिला तथा सामाजिक मामिला समितिमा पठाइएको छ। सांसद विष्णुकुमार कार्की कृषि समितिबाट पूर्वाधार विकास समितिमा, प्रतिमा गौतम पूर्वाधार समितिबाट कृषि समितिमा र आशा विक महिला तथा सामाजिक मामिला समितिबाट कृषि समितिमा सरुवा भएका छन्।

यसैबीच, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ चीनको साङ्घाईमा आयोजना हुने ‘कृत्रिम बौद्धिकता सम्मेलन–२०२५’ मा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन्।

मन्त्री गुरुङको अनुपस्थितिमा उक्त मन्त्रालयको कार्यवाहक जिम्मेवारी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसदमा जानकारी गराएको छ।

प्रतिक्रिया