

खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै, संगठन विस्तार अभियान घोषणा गर्ने

काठमाडौं – नेकपा एमालेका बरिष्ट नेता झलनाथ खनाल-माधव नेपाल समूहको स्थायी कमिटीको बैठक शनिबार पनि बस्दैछ । बैठक आज दिउँसो ३ बजे बस्ने भएको हो ।
खनाल नेपाल समुहको शुक्रबार हिजाे बसेको स्थायी कमिटी बैठकले शनिबार संगठन विस्तार तथा सुदृढीकरण अभियान घोषणा गर्ने निर्णय गरेको हो।
उक्त समुहको शुक्रबारको छलफलमा प्रस्ताव भएको र शनिबार संगठन निर्माण र प्रशिक्षणको अभियान घोषणा हुने नेता योगेश भट्टराईले जानकारी दिए।
‘शुक्रबारको छलफलमा केही कार्यक्रम प्रस्ताव भएको छ’, भट्टराईले भने, ‘आजको छलफलले राष्ट्रव्यापी संगठन निर्माण, प्रशिक्षण र अभियानको ढाँचालाई अन्तिम रुप दिन्छौं र पार्टीका तहमा वितरण गर्छौँ। ’
भट्टराईका अनुसार चैत ४ र ५ गते काठमाडौँमा भएको राष्ट्रिय भेलाबाट पारित भएको राजनीतिक प्रतिवेदनलाई कार्यकर्तामाझ लाने निर्णयसमेत स्थायी कमिटी सदस्यको छलफलले गरेको छ।
राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणामाथि विभिन्न १० टोलीबाट आएका सुझावलाई समेटेर तयार भएको प्रतिवेदनमाथिसमेत शुक्रबार छलफल भएको भट्टराईले बताए। शनिबार हुने छलफलपछि प्रतिवेदनलाई प्रकाशन गरेर वितरण गर्ने उनको भनाइ छ।
नेपाल समूहको छलफलले पार्टीका महासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको कारबाही पूर्वाग्राही भएको निष्कर्ष निकालेको छ। बैठकले यसको चर्को विरोध गरेको छ।
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाको कार्यान्वयन पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट नभएको भन्दै त्यसलाई कार्यान्वयन गर्दै पार्टी एकताको रक्षाका लागि आह्वान गर्ने निर्णय भएको उनले बताए।

