विद्याकी छोरी ‘फायर’


काठमाडाैं- नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन नदिने निर्णय गरेपछि उनकी छोरी उषा किरण भण्डारीले सामाजिक सञ्जालमार्फत तीव्र असन्तुष्टि पोखेकी छन्। उनले पार्टी नेतृत्वको निर्णय र त्यसमा पुगेको शैलीप्रति खरो आलोचना गरेकी हुन्।

आफ्नो फेसबुक पोस्टमा उनले लेखेकी छन्, “तपाईंहरूमध्ये कति जना यो निर्णयबाट छक्क परेका देखेर म छक्क परें। तपाईंहरू मानव स्वभाव नहेरी कसरी बाँचिरहेका हो भन्ने अचम्म लाग्छ। निर्णय र त्यसमा पुग्न गरिएका तिगडमहरूबाट म भने अचम्मित छैन।”

उनले पार्टीप्रति सन्देहपूर्ण धारणा राख्दै लेखेकी छन्, “आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग ! पहिले मलाई लाग्थ्यो, किन कमरेड पुष्पलालको परिवारले नेकपा एमालेलाई नैतिक समर्थन पनि देखिने गरी गर्दैन ? तर हामीलाई त आमाले सक्रिय राजनीति नगर्ने भए पनि पार्टीसँग टाढा नजानु, नैतिक समर्थन गर्नुपर्ने भन्नुहुन्थ्यो। त्यसअनुसार हामीले प्रयास गर्‍यौँ।”

पछिल्लो अवस्थाप्रति गम्भीर निराशा व्यक्त गर्दै उनले लेखेकी छन्, “पछिल्लो एक महिनामा मलाई ज्ञान भयो—नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पु¥याइन्छ। त्यो खालको समर्थन खोजिँदैन पनि रहेछ। आजको घटनाले त्यही ज्ञानको बोझ यहाँ पोख्ने मौका दियो। त्यसैले यस प्रकरणलाई धन्यवाद।”

प्रतिक्रिया