
कालीमाटीमा ल्याइएको रायो सागमा अत्यधिक विषादी भेटियो
काठमाडाैं- मुलुककै प्रमुख तरकारी तथा फलफूल बजार कालीमाटीमा बिक्रीका लागि ल्याइएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ।
दोलखाबाट बुधबार कालीमाटी तरकारी बजारमा ल्याइएको रायो सागमा ८०.९५९० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ।
बुधबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारका १७ वटा पसलबाट संकलन गरिएका १७ प्रकारका तरकारी तथा फलफूलको विषादी परीक्षण गरेको थियो। उक्त परीक्षणमा रायो सागमा अत्यधिक विषादी भेटिएको हो। समितिका अनुसार विषादीको मात्रा अत्यधिक भएकाले उक्त रायो साग उपभोगका लागि अयोग्य मानिएको छ।
यसअघि २४ असारमा भक्तपुरबाट ल्याइएको रायो सागमा पनि ८२.७८ प्रतिशत विषादी भेटिएको थियो भने २६ असारमा काभ्रेबाट ल्याइएको घिउ सिमीमा ८६.८४ प्रतिशत विषादी पाइएको थियो।
सरकारको मापदण्ड अनुसार, विषादीको रोकावट प्रतिशत ३५ भन्दा कम भएमा तरकारी उपभोगयोग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशत भएमा केही दिन राखेर मात्र उपभोग गर्न मिल्ने व्यवस्था छ। तर ४५ प्रतिशतभन्दा बढी विषादी पाइएका तरकारी तथा फलफूल उपभोगका लागि पूर्ण रूपमा अयोग्य मानिन्छन्।



कागजपत्र |
