रुकुमपूर्वमा च्याउ खाएर बिरामी भएकी थप एक बालिकाको मृत्यु


रुकुम- रुकुमपूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जङ्गली च्याउ खाएर बिरामी परेका एउटै परिवारका सदस्यहरूमध्ये थप एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार मंगलबार राति दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ७ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको हो। त्यसअघि मंगलबार दिउँसो करिब ३ बजे उनका ३ वर्षीय भाइ योजन विकको सल्यान अस्पतालमा मृत्यु भएको थियो।

यो घटना आइतबार बेलुकी भएको हो। एउटै परिवारका चार सदस्यले जङ्गली च्याउ खाएपछि सबै बिरामी परेका थिए।

गम्भीर बिरामी भएकी ९ वर्षीया आयुषा विकलाई सल्यानबाट थप उपचारका लागि दाङ रेफर गरिएको छ भने उनकी ३५ वर्षीया आमा राजकुमारी विकको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनी हाल रुकुमपश्चिमको जिल्ला अस्पतालमा उपचाररत छन्।

 

प्रतिक्रिया