
एमाले केन्द्रीय कमिटी बैठक सुरु
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय मुख्यालयमा केहीबेरअघि शुरु भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ। यसअघि साउन २ र ३ गते बसेको एमालेको पोलिटब्यूरो बैठकबाट विधान संशोधनको प्रस्ताव पारित भएको थियो।
विधान मस्यौदा गर्न जिम्मेवारी प्राप्त उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्नेछन्। प्रस्तावित विधान संशोधनबारे इच्छुक केन्द्रीय सदस्यहरूलाई बढीमा तीन मिनेटभित्र आफ्ना धारणा राख्न समय दिइने बताइएको छ। बैठकमा सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो सदस्यबाहेक करिब २३० केन्द्रीय सदस्यले धारणा राख्न सक्नेछन्।
विधान संशोधन प्रस्तावमा पार्टीको पदाधिकारीमा रहेको ७० वर्षे उमेर हद र एकै पदमा दुई कार्यकाल बस्न नपाइने व्यवस्था हटाउने प्रस्ताव रहेको जनाइएको छ। यो प्रस्तावले पार्टीभित्र ठूलो बहस सिर्जना गरेको छ।
एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा हुने तय भएको छ।



कागजपत्र |
