
काठमाडौं महानगरपालिकाको +२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा प्रकाशन
काठमाडौं – काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत शिक्षण संस्थामा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि सञ्चालित प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।
महानगरपालिकाको शिक्षा विभागका अनुसार, मिति २०८२/०४/०३ गते शनिबार ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालित परीक्षामा १४,१७३ विद्यार्थी सहभागी हुनु भएको थियो । जसमध्ये १०,८६७ जना विद्यार्थी उत्तीर्ण हुनु भएको छ । उत्तीर्ण हुन न्यूनतम ४० अङ्क (४०%) आवश्यक थियो र ४० अङ्क नकटाउने विद्यार्थीहरूलाई अनुत्तीर्ण गरिएको विभागले जनाएको छ ।
सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले शिक्षा विभागले ‘चौबीस घन्टामै नतिजा प्रकाशन’ गरेर उदाहरणीय काम गरेको बताएका छन् । “शिक्षा विभागले जुन चित्त लगाएर काम गरिरहेको छ, त्यो प्रशंसनीय छ। एक महिना भन्दा अघिदेखि निरन्तर खटिएर चौबीस घन्टामै नतिजा प्रकाशित गर्न सकियो। यो हाम्रो समर्पण र विद्यार्थीप्रतिको उत्तरदायित्वको प्रमाण हो। समावेशीकरणलाई सुनिश्चित गर्ने स्कलरसिप प्रणालीलाई संविधानको मर्मअनुसार कार्यान्वयन गर्दै आएका छौं।”

उनले थपे,“दुई वर्षको अनुभव, शिक्षा विभागको सक्रियता र योजना आयोगको समन्वयका कारण यस्तो नतिजा सम्भव भएको हो। अहिले परीक्षाको र भर्नाको समय हो, विद्यार्थीले ढिला पर्खनु नपरोस् भनेर हामी दिनरात खटिएका छौं।”
परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० ओटा बहुवैकल्पिक प्रश्नहरू समावेश थिए। गलत उत्तरका लागि नकारात्मक अङ्कनको व्यवस्था थिएन। देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी परीक्षाका लागि छनोट भएका थिए । तीमध्ये १४,१७३ जनाले परीक्षामा भाग लिएका थिए ।
नतिजा OMR (Optical Mark Recognition) प्रणालीमार्फत जाँच गरिएको छ। यो प्रणालीले उत्तरपुस्तिकालाई स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ, जसले परिणामको शुद्धता र पारदर्शिता सुनिश्चित गरेको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञावालीले जनाएका छन् ।
नतिजा महानगरपालिकाको आधिकारिक वेबसाइट तथा entrance.kathmandu.gov.np मा प्रकाशित गरिएको छ। विद्यार्थीहरूले आफ्नो SEE को सिम्बोल नम्बर, जन्म मिति र इमेल वा SMS मार्फत प्राप्त पासवर्ड प्रयोग गरी आफ्नो स्कोर कार्ड हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्नेछन्।
काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित १६० संस्थागत विद्यालयहरूमा ४ हजार भन्दा बढी छात्रवृत्ति सिटहरू उपलब्ध छन्।



कागजपत्र |
