आज २९ जिल्लामा बाढीको मध्यम जोखिम, नदी आसपास सतर्क रहन आग्रह


काठमाडौं- आज देशभरका २९ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, इलाम, दोलखा, सिन्धुपाञ्चोक, सोलुखुम्बु, सङ्खुवासभा, सिन्धुली, मकवानपुर, चितवन, काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरमा बाढीको सम्भाव्यता मध्यम तहको छ।

यस्तै तनहुँ, कास्की, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पर्वत, अर्घाखाँची, पाल्पा, सल्यान, अछाम, कैलाली र कञ्चनपुरमा पनि समान जोखिम देखिएको छ।

महाशाखाले जोखिममा परेका र त्यस आसपास रहेका जिल्लाहरूमा बहने नदी तथा खोलामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

यसैबीच, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाउँदै सतर्क रहन आग्रह गरेको छ।

कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही क्षेत्रमा आज हावाहुरीको सम्भावना समेत रहेको छ। रातिको समयमा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको र अन्य प्रदेशका केही ठाउँमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया