सांसद गौतमको आरोप- रवि लामिछानेका लागि गरिएको हस्ताक्षर अभियान नक्कली


काठमाडौं- नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहकारी कोष अपचलन प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा सञ्चालित हस्ताक्षर अभियानलाई ‘नक्कली’ भन्दै कडा आलोचना गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गौतमले अहिलेको राजनीति नीतिनिष्ठ नभई ‘नाटक र नक्कलीपनको अखडा’मा रूपान्तरण भएको टिप्पणी गरिन् ।

“राजनीति अब नीति र सिद्धान्तको होइन, नाटक र नक्कलीपनको अखडा बनेको छ । आँसु, आरोप र अभिनय तयार गर्नेहरू आफैं सांसद बनेका छन् । जेलभित्रबाट हस्ताक्षर संकलनका नाममा क्यूआर कोड पठाएर द्रव्य उठाउने राजनीतिक नवाचार अब लोकतन्त्रको नैतिकतामाथि खेलबाड हो,” उनले भनिन् ।

गौतमले कुनै अपराध गरेपछि सजाय भोग्दै गरेका व्यक्तिका पक्षमा जनमत बनाउने हस्ताक्षर संकलन अभियानलाई गम्भीर प्रश्न उठाउँदै ठगी, चोरी र अपराधमा संलग्नहरूलाई संरक्षण दिने प्रवृत्तिप्रति आपत्ति जनाइन् ।

“ठगी र बेइमानीमा जेल गएकाहरूको लागि हस्ताक्षर संकलन गर्नु के नैतिक काम हो ? अदालतलाई प्रभाव पार्न सकिने गरी यस्तो अभियान सञ्चालन गर्नु लोकतन्त्रप्रति अपमान हो । अब त रास्वपाको एजेन्डा के हो भन्ने प्रश्न उठ्न थालेको छ – जनताको सेवा, नाटक, षड्यन्त्र या चन्दा संकलन ?” गौतमले भनिन् ।

 

प्रतिक्रिया