‘छाउ गोठ’मै सर्पले टोकेर कमलाले गुमाइन् ज्यान


कञ्चनपुर– कञ्चनपुरमा ‘छाउ गोठ’मा सुतेकी एक युवतीको सर्पले डसेर मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीकी २८ वर्षीय कमला दमाईको महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेको अवस्थामा शनिबार मृत्यु भएको कृष्णपुर– २ का वडाध्यक्ष अरुण साउदले जानकारी दिए ।

छाउपडी प्रथा नेपालको सुदूरपश्चिममा प्रचलित अमानवीय सामाजिक प्रथाको रुपमा अझै कायम रहेको छ ।

महिनावारी भएका समयमा महिलाहरूलाई ‘अशुद्ध’ ठानी घर, परिवार र समाजबाट अलग गोठमा राख्ने गरिन्छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहारसम्बन्धी कसुर शीर्षकको दफा १६८ उपदफा (३) मा महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भनिएको छ ।

यस्तो कार्य गरेको ठहरिएमा ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था यस ऐनमा गरिएको छ ।

प्रतिक्रिया