एनपीएल प्रकरणमा नाम जोडिएपछि खेलकुद मन्त्री चौधरीको स्पष्टिकरण


काठमाडौं- युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) प्रकरणमा आफ्नो नाम जोडिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्री चौधरीले एनपीएलको पहिलो संस्करणमा आयोजक नेपाल क्रिकेट संघ (क्यान) को आन्तरिक आर्थिक कारोबार सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र त्यसअनुसार नियमअनुसार छानबिन कार्यदल गठन भई अनुसन्धान सम्पन्न भइसकेको जानकारी दिएका छन्।

उनका अनुसार छानबिन कार्यदलले तयार पारेको प्रतिवेदन २०७८ असार २५ गते मन्त्रालयमा बुझाइसकेको छ।

“नियमानुसार गठित कार्यदलमार्फत छानबिन भएको र प्रतिवेदन मन्त्रालयमा बुझिसकेको अवस्थामा उक्त विषयलाई अतिरञ्जित गर्ने प्रयास दुःखद छ,” मन्त्री चौधरीले विज्ञप्तिमा लेखेका छन्।

उनले प्रतिवेदन अध्ययन गरी कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइने पनि स्पष्ट पारेका छन्।

प्रतिक्रिया