पूर्वमन्त्री घर्ती मगरको निधन


काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वमन्त्री बालाराम बलबहादुर घर्ती मगरको निधन भएको छ । ८७ वर्षीय मगरको शुक्रबार बिहान १०ः३० बजेतिर ललितपुरको ग्वार्खोमा रहेको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

रोल्पामा जन्मिएका मगर विभिन्न चरणमा गरेर ११ पटक मन्त्री भएका थिए । आफ्नो कार्यकालमा स्वच्छ छवी बनाएका घर्ती मगर सादगी नेताका रुपमा पनि चिनिन्छन् ।

उनको निधनले नेपाली राजनीतिले मात्र नभइ समग्र देशले नै कुशल अभिभावक गुमाएको बताउँदै राप्रपाले उनको सादा जीवन र उच्च विचारको सम्मान गर्न आवश्यक रहेको बताएको छ । प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले विज्ञप्ति जारी गर्दै राप्रपाले एक अभिभावक, एक सच्चा जनसेवक र एक प्रेरणादायी व्यक्तित्व गुमाएको बताएका छन् ।

भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सक्रिय उनी राजनीतिक यात्रा इमानदारी, पारदर्शिता र निष्ठाले भरिएको नेताका रुपमा परिचित छन् ।

प्रतिक्रिया