
‘४० कटेसी रमाउँला भन्ने गीतमा नअलमलिनू, ३० वर्षभित्र तीन सन्तान पाइसक्नू’
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याको सन्तुलित वृद्धि नहुँदा मानव अस्तित्व नै संकटमा पर्ने भन्दै समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन्।
विश्व जनसंख्या दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रममा ‘राष्ट्रिय जनसंख्या नीति, २०८२’ सार्वजनिक गर्दै उनले जनसंख्या र विकास सँगसँगै अघि बढ्नुपर्ने धारणा राखे।
प्रधानमन्त्री ओलीले भने, “मानिस भएकाले हरेक देश र धर्तीको अर्थ छ। यदि जनसंख्या हुँदैनथ्यो भने देश पनि हुने थिएन। मानव अस्तित्व र सुखपूर्ण जीवन जोगाउन उपयुक्त नीति र कदम आवश्यक छन्।”
उनले सृष्टिमा मानव जातिको स्थान सबैभन्दा मूल्यवान रहेको बताउँदै भने, “कृपया आफ्नो स्वार्थका लागि मान्छे मार्ने धन्दा बन्द गरौं। एकातिर जनसंख्याबारे गोष्ठी, सेमिनार गर्ने, अर्कातिर आमविनाशका हतियार बनाएर मान्छे मार्ने क्रम जारी रहने हो भने मानव संसारको अस्तित्व रहँदैन। जनसांख्यिक असन्तुलनलाई कायम रहन दिनुहुँदैन।”
प्रधानमन्त्रीले सरकारले विवाहका लागि २० वर्ष उमेरको कानुनी व्यवस्था गरिसकेको उल्लेख गर्दै भने, “४० कटेपछि रमाउँला भन्ने गीतमा नअलमलिनू, ३० वर्षभित्र तीन सन्तान पाइसक्नू।”
उनले ‘सन्ताले डाँडाकाँडा ढाकून्’ भन्ने भनाइको प्रचारले कतिपयलाई सन्तानै नपाउने अवस्थासम्म पुर्याएकोमा चिन्ता व्यक्त गरे। विकसित देशहरूमा जनसंख्या ऋणात्मक हुँदै गएको बताउँदै उनले नेपालले समयमै जनसंख्या सन्तुलनमा ध्यान दिनुपर्ने बताए।



कागजपत्र |
