अनुशासन समितिको निर्णयमाथि शेखर समूहको प्रतिवाद, सभापतिसँग छलफलको तयारी


काठमाडौं — नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको अनुशासन समितिले गरेका अनुशासन कारबाहीलाई लक्षित गर्दै आफूनिकट नेताहरूको बैठक बोलाएका छन्। अनुशासन समितिले २०७९ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालसहितका नेताहरूलाई कारबाही गरेपछि कोइराला पक्ष असन्तुष्ट बनेको हो।

बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको बैठकमा नेता कोइराला, उपसभापति धनराज गुरुङलगायत नेताहरू सहभागी थिए। तर, कोइराला समूहबाटै महामन्त्री बनेका गगन थापा समूह भने बैठकमा सहभागी भएन।

अनुशासन समितिको असार ९ देखि १७ गतेसम्म बसेको बैठकले लुम्बिनी प्रदेशका महामन्त्री खनाल, खोटाङ सभापति विष्णुकुमार राई, तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, पर्साका अरविन्द गुप्ता र धनुषाका आनन्द यादवसहित १८ जनामाथि अनुशासन कारबाही गरेको हो। खनाल र राई कोइरालानिकट नेता हुन्।

बिहीबार बिहान बसेको कोइराला पक्षको बैठकले कारबाहीलाई गुटप्रेरित, पक्षपातपूर्ण र नियतवश गरिएको भन्दै आपत्ति जनाएको छ। एक नेताले भने, “पार्टी विधानअनुसार ६ महिनाभित्र अनुसन्धान टुंगिनुपर्नेमा दुई वर्षभन्दा बढीपछि कारबाही गरिएको छ, जुन अवैधानिक छ।”

उनले अनुशासन समितिमा रहेका पाँचमध्ये दुई सदस्यले “नोट अफ डिसेन्ट” लेखेको भन्दै कारबाहीलाई विवादास्पद बताए। त्यस्तै, केन्द्रीय कार्यसमिति बैठक चलिरहेकै बेलामा कारबाही घोषणा गरिएकोप्रति पनि आपत्ति जनाइएको छ।

बैठकले सभापति शेरबहादुर देउवासँग छलफल गर्ने निष्कर्ष निकालेको छ। “शालिन ढंगले निर्णयको प्रतिवाद गर्नेछौँ,” ती नेताले भने।

 

प्रतिक्रिया