
अरनिको राजमार्ग पूर्णरुपमा बन्द
सिन्धुपाल्चोक — भोटेकोसी गाउँपालिका–२ मा भीषण पहिरो जाँदा अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। बुधबार बिहान परेको अविरल वर्षासँगै आएको पहिरोले तातोपानी नाका जोड्ने प्रमुख सडक खण्ड बन्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
बाह्रबिसे–कोदारी लोकमार्गअन्तर्गत पर्ने उक्त सडकमा सडक माथिबाट आएको पहिरोले बाटो पुरिएको छ भने तलतर्फ भोटेकोसी नदीले कटान गरेपछि सडक भासिएको हो। दुबै तर्फबाट क्षति पुगेपछि सडकमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
यस कारण तातोपानी नाका हुँदै काठमाडौँतर्फ आउन लागेका मालबाहक कन्टेनरहरू भन्सार क्षेत्रमै रोकिएका छन्। त्यस्तै, यात्रुबाहक बस, साना–ठूला सवारी, एम्बुलेन्सहरू पनि आवतजावत गर्न नसकेपछि यात्रु र बिरामी मारमा परेका छन्।
सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमित श्रेष्ठका अनुसार सडक सुचारु गर्न डोजर प्रयोग गरेर पहिरो पन्छाउने कार्य सुरु गरिएको छ। सडक पुनः सञ्चालनका लागि भोटेकोसी गाउँपालिकाले आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरिरहेको गाउँपालिका अध्यक्ष पासाङ नृर्पु शेर्पाले जानकारी दिएका छन्।



कागजपत्र |
