हराएका भनिएका रोल्पाको थबाङ गाउँपालिकाका ७ जना कर्मचारी गुल्मीमा भेटिए


रोल्पा — रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहित ७ जना कर्मचारी तीन दिनसम्म सम्पर्कविहीन भएपछि हराएको ठानिएकोमा गुल्मीमा फेला परेका छन्।

गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा मगरले बुधबार सार्वजनिक रूपमा विज्ञप्ति जारी गर्दै प्रशासकीय अधिकृतसहितका कर्मचारीहरू असार २४ गते बिहानदेखि सम्पर्कविहीन भएको जानकारी दिएका थिए। उनले अपहरणको आशंका गर्दै सूचना सार्वजनिक गरेका थिए।

बिहीबार बिहान अध्यक्ष बुढा मगरले कर्मचारीहरू गुल्मीमा सुरक्षित रूपमा भेटिएको जानकारी दिए। उनका अनुसार बिहान ७:५ मा प्रमुख प्रशासकीय अधिकृत घर्ती मगरसँग सम्पर्क भएको हो। ‘उहाँहरूले आज लिवाङ हुँदै थवाङ फर्किने जानकारी गराउनुभयो,’ उनले भने।

अध्यक्षका अनुसार प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर, सहायक प्रशासन पाँचौँ हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कडेल, सव–इन्जिनियर निशा आचार्य, चन्द्र प्रकाश ओली, शिवकुमार वली र प्रदीप केसी असार २३ गते कार्यालयमै रहेको अवस्थामा रुकुमपूर्वतर्फ भुक्तानीसम्बन्धी कामका लागि गएका थिए।

तर, असार २४ गते बिहानदेखि सबैको मोबाइल एकैपटक अफ भएपछि अपहरण वा अन्य अनिष्टको आशंका गरिएको थियो। हाल सबै कर्मचारीहरू गुल्मीमा सुरक्षित भेटिएको पुष्टि भए पनि उनीहरू किन गुल्मी पुगे भन्ने कारण भने अझै खुल्न सकेको छैन।

प्रतिक्रिया