त्रिशूलीले लाश जलाइरहेको चिता बगायो


काठमाडौं– धादिङमा त्रिशूली नदीले बगाएर ल्याएका दुई जनाको शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सुवास हमालका अनुसार गल्छी गाउँपालिका–२ केउरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुमा ती शवहरू भेटिएका हुन्।

शवको अवस्था हेर्दा उनीहरूको मृत्यु हालैमा भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। प्रारम्भिक अनुसन्धानमा ती शव रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीसँगै बगेर त्रिशूली हुँदै आएको हुन सक्ने सम्भावना रहेको जनाइएको छ।

यसैबीच, धादिङकै बेनिघाट रोराङ गाउँपालिका–७ स्थित चरौँदीमा जलाउँदै गरिएको शवको चिता समेत त्रिशूलीले बगाएको छ।

मंगलबार बिहान त्रिशूलीमा आएको बाढीले अन्त्येष्टि भइरहेकै बेला चिता बगाएको हो। वडाध्यक्ष कुमार बस्नेतका अनुसार बगाएको चिता गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाका आफन्तको रहेको खुलेको छ।

प्रतिक्रिया