
ओली–रेशम भेटवार्ता, राजीनामा होल्डमा
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीबीच सोमबार बालुवाटारमा करिब एक घण्टा लामो भेटवार्ता भएको छ।
स्रोतका अनुसार सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरीको बर्खास्तीपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल केन्द्रित भएको थियो। प्रधानमन्त्री ओलीले चौधरीलाई सरकारबाट समर्थन नफिर्ता लिन आग्रह गरेका थिए।
रेशम चौधरीले कुराकानीमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए। “हाम्रो मन्त्री बर्खास्त गरिएको विषयमा प्रधानमन्त्रीसँग कुरा भयो। हामी सहमतिका आधारमा सरकारमा गएका हौं, तर दादागिरी शैलीमा गरिएको निर्णय स्वीकार्य छैन,” उनले भने।
यद्यपि, नागरिक उन्मुक्ति पार्टीले संघीय सरकारसहित सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ। आजको संसद बैठकमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ प्रतिपक्षी बेञ्चमा बसेकी थिइन्।
ओली नेतृत्वको सरकारमा सहभागी पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले राजीनामा दिन तयारी गरे पनि प्राविधिक कारणले पत्र बुझाउन सकेका छैनन्। स्रोतका अनुसार शीर्ष तहमा भइरहेको राजनीतिक संवादका कारण उनको राजीनामा ‘होल्ड’ मा रहेको हुनसक्छ।



कागजपत्र |
