
जनताको हस्ताक्षरसँग ‘अपराध’ साट्ने रास्वपा अभियान !
देशका प्रमुख जिल्लाका सहकारीहरुका रकम ठगी गरेको अभियोगमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको रिहाईका लागि अहिले देश÷विदेशमा हस्ताक्षर अभियान चलिरहेको छ ।
लामिछाने थुनामा रहेकै अवस्थामा पार्टीबाटै निर्णय गरेर उनको रिहाईका लागि दबाबस्वरुप हस्ताक्षर अभियान सञ्चालन गरेको खुल्लम्–खुल्ला रास्वपाका सांसदहरु नै बताउँछन् । कानुन बनाउने तहमा पुगेकाहरुले नै थुनामा परेका व्यक्तिका लागि हस्ताक्षरको अभियान नै चलाउनु कतिसम्म कानुन्सम्मत् हो, त्यो उनीहरुको हस्ताक्षरबाट रवि थुनामुक्त भएको दिन नै थाहा होला ।
देशभर अनि नेपाली भएका विदेशका अन्य स्थानमा पनि रविको तस्बिरसहितको फर्ममा हस्ताक्षर गराउनका लागि ‘पसल’ नै खडा गरेर बसिरहेका छन् रास्वपा कार्यकर्ताहरु । हरेक ‘पसल’मा हस्ताक्षरकै लागि कतिपय सेलिब्रेटीहरु पनि पुगेका छन् । कतिपय व्यक्तिहरुले १०/२० पटकसम्म हस्ताक्षर गरेका प्रशस्तै उदाहरणहरु पनि देखिन पाइएको छ । रास्वपाले यस्तै अभियान अझै एक महिना चलायो भने नेपालको जनसंख्या भन्दा धेरै जनाले उसको अभियानमा साथ दिएको देख्न पाउन बेर छैन ।
हो, उनीहरुले यस अभियान चलाए, त्यसपछि यो हस्ताक्षर अदालतमा प्रमाणको रुपमा पेश गर्ने हुन् कि के हो ? त्यसको जवाफ कसले दिने ? हस्ताक्षर नै गरेर गरेको अपराध क्षम्य हुने परिस्थितिमा नेपालमा आइसकेको हो र ?
पछिल्ला दिनहरुमा रास्वपाको यस अभियानमा जनताले प्रश्न गर्न थालेका कतिपय घटना देखिन थालेका छन् । रास्वपाभित्र कानुनकी ज्ञाता दाबी गर्ने सांसद सोविता गौतम स्वयं रविलाई जेलबाट छुटाउनका लागि हस्ताक्षर अभियानमा लागिरहँदा उनलाई जनताले सोधेको प्रश्न सामाजिक सञ्जालमा भाइरल भइरहँदा अझै उनीहरुको चेत खुलेको छैन ।
कानुन बनाउने तहमा पुगेकाहरुले नै थुनामा परेका व्यक्तिका लागि हस्ताक्षरको अभियान नै चलाउनु कतिसम्म कानुन्सम्मत् हो, त्यो उनीहरुको हस्ताक्षरबाट रवि थुनामुक्त भएको दिन नै थाहा होला ।
खाडीमा पसिना बगाउन गएका गरिब नेपालीहरुको भावनालाई भोटमा परिणत गर्दैै संसद पुगेका रास्वपालाई पार्टी दर्ता भएको २ वर्ष पनि नपुग्दै सरकारमा जानुपर्यो, त्यो पनि गृहसहित उपप्रधानमन्त्री लिएर । त्यतिबेला जनताको कामका लागि होला भन्ने आभाष भए पनि अहिलेसम्म भएका गतिविधि हेर्दा रविको उक्त हतारो ‘अपराध’ लुकाउने हतारको हो रहेछ भन्ने पुष्टी हुँदै गएको छ ।
रवि राजनीतिमा आउने बहस चल्दाचल्दै स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरिसकेकाहरु पनि रविको दल घोषणासँगै ‘लिसो’ झैं टाँसिएर संसद पुगेका तोसिमाहरु अहिले व्यावसायिक कार्यक्रमका लागि भनेर लिइरहेको भिषामा राजनीति गरिरहेका छन् । चिकित्साक्षेत्रको कार्यक्रमका लागि भनेर अमेरिका भ्रमण तय गरेकी तोसिमाले अहिले अमेरिकाका विभिन्न स्थानमा राजनैतिक भेटघाटमा रहेको सामाजिक सञ्जालमा छरपस्ट देखिन थालेको छ ।
पछिल्ला दिनमा रविको लागि हस्ताक्षर गर्नेहरु भन्दा पनि हस्ताक्षर गरेको फोटो सामाजिक सञ्जालमा पोस्ट्याउनेहरुको भिड धेरै देखिन थालेको छ । यसैमेसोमा एक प्रहरी कर्मचारीले हस्ताक्षर गरिरहेको तस्बिर खिचेर सामाजिक सञ्जालमा रास्वपाकै कार्यकर्ताले पोस्ट्याउँदा यतिबेला कारबाहीको भागिदार बन्नु परेको छ ।
अनेकौं प्रकरणमा मुछिनुका बाबजुद रविलाई जनताले नै समर्थन गरेका कारण आफूले तनहुँबाट निर्वाचन जितेको भन्ने सत्यलाई स्वर्णिमले अहिले नै बिर्सिसकेका हुन् र ? यदि रवि लामिछाने रास्वपा भन्ने पार्टीमा हुने थिएनन् भने अहिले जितेका २१ मध्ये १/२ जनाले मात्र संसदको रोस्ट्रम अगाडि ‘पलेटी’ कस्न पाउथेँ होलान् ।
हस्ताक्षरका लागि कुनै जिल्लाहरुमा प्रति हस्ताक्षर सय रुपैयाँ लिने गरेको पनि सुनिएको छ, तर त्यसको आधिकारिकता भने पुष्टी हुनसकेको छैन । जीवन धान्नकै लागि सडकमा व्यापार गर्न विवश गरिब जनताहरु काठमाडौं महानगरको सडकमा उठिसकेको अवस्थामा ‘निलो’धारीहरु खुल्लम्खुल्ला स्टल राखेर बसिरहेका छन् । त्यसका लागि रास्वपाले अनुमति लिएको छ वा उनीहरुलाई अनुमति नै लिनुपर्दैन ? त्यसतर्फ कसको ध्यान थाले ?
रवि लामिछाने निर्दोष वा दोषी जे छन्, यदि अदालतबाट निर्दोष सावित भएमा उनलाई जेलबाहिर स्वागत गर्न आम जनता अवश्य नै जानेछन्, तर दोषी ठहरिए भने ? अहिले आम जनताले गरेको हस्ताक्षरले उनको अपराध लुक्ने हो र ? कि उनले गरेको अपराधलाई जनताको हस्ताक्षरबाट साट्ने हो ?
पार्टीका उपाध्यक्ष भनिएका डा. स्वर्णिम वाग्लेका अनुसार यस अभियान रविप्रति जनताको समर्थनका लागि भन्ने बुझिन्छ, त्यसका लागि अहिले यति गर्नु नै पर्दैन । आम जनताले रविलाई समर्थन छ भनेर पटकपटक प्रमाणित गरिसकेका छन् । दोहोरो नागरिकता, राहदानी प्रकरण, शालिकराम पुडासैनी आत्महत्या प्रकरणलगायतका प्रकरणमा जनता रविको पक्षमा उठेकै हुन् । अनेकौं प्रकरणमा मुछिनुका बाबजुद रविलाई जनताले नै समर्थन गरेका कारण आफूले तनहुँबाट निर्वाचन जितेको भन्ने सत्यलाई स्वर्णिमले अहिले नै बिर्सिसकेका हुन् र ? यदि रवि लामिछानेले राजनीतिक दल खोलेर राम्रो नतिजा ल्याउँथिएनन् भने स्वर्णिम यतिबेला कांग्रेस सभापति देउवाको गेटमा भेटका लागि प्रतिक्षा गरिरहेकै हुन्थे होला ।
यदि रवि लामिछाने रास्वपा भन्ने पार्टीमा हुने थिएनन् भने अहिले जितेका २१ मध्ये १/२ जनाले मात्र संसदको रोस्ट्रम अगाडि ‘पलेटी’ कस्न पाउथेँ होलान् । पटक–पटक जनताले दिएको भोट नै रविलाई जनताको समर्थन छ भन्ने स्पष्ट प्रमाण हो ।
कतिपयलाई हस्ताक्षरपछि सदस्यताका लागि दबाब दिने गरेको पनि सुन्न पाइएको छ । के हस्ताक्षर नै पार्टीको सदस्यताको ‘रसिद’ हो भने सरकारी सेवामा कार्यरत कर्मचारीहरुलाई हस्ताक्षर गर्न किन लगाइएको छ ?
कानुन बनाउँछौं भन्नेहरुले नै आम सिधा सादा र खाडीमा पसिना बगाउन विवश जनताको भावनासँग खेल्दै हस्ताक्षर अभियानमा सहभागी गराउनु कत्तिको जायज हो ? त्यसको जवाफ कसले दिने हो ?



कागजपत्र |
