अवहेलना मुद्दामा चिकित्सक संघका महासचिवविरुद्ध उच्च अदालतको कारण देखाउ आदेश


काठमाडौं- उच्च अदालत पाटनले नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीलाई अदालत अवहेलनाको विषयमा ७ दिनभित्र उपस्थित हुन आदेश दिएको छ।

न्यायाधीशद्वय श्याकुमार भट्टराई र हेमन्त रावलको संयुक्त इजलासले उपभोक्ता हित संरक्षण मञ्चले दायर गरेको निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै ‘कारण देखाउ’ आदेश जारी गरेको हो।

अदालतले डा. तिवारीलाई ७ दिनभित्र व्यक्तिगत रूपमा अदालतमा उपस्थित भई “अवहेलनाको कसुरमा किन कारबाही नगर्नु पर्ने हो” भन्ने स्पष्ट कारण र प्रमाण पेश गर्न निर्देशन दिएको हो।

उक्त मुद्दा उपभोक्ता अदालतको फैसलापछि डा. तिवारीले सार्वजनिक रूपमा दिएका अभिव्यक्ति र नेपाल चिकित्सक संघको लेटरहेडमा जारी विज्ञप्तिका आधारमा दायर भएको हो।

उपभोक्ता अदालतले उपचारमा लापरबाही भएको ठहर गर्दै ग्रान्डी सिटी, हिमाल र ओम अस्पताललाई क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो। त्यसपछि चिकित्सक संघले अदालतको उक्त फैसलाविरुद्ध आन्दोलनको घोषणा गर्दै विरोधमा उत्रिएको थियो।

उक्त आन्दोलन र सार्वजनिक अभिव्यक्तिहरू अदालतप्रति अवहेलनापूर्ण भएको आरोपमा उपभोक्ता हित संरक्षण मञ्चले अदालतमा निवेदन दिएको थियो। अदालतले अब डा. तिवारीका तर्फबाट यथोचित स्पष्टीकरण मागेको हो।

प्रतिक्रिया