
कर्मचारीलाई सामाजिक सञ्जालमा राजनीतिक दल र नेताको बारेमा टिप्पणी गर्न बन्देज
काठमाडौं — प्रतिनिधिसभाबाट निजामती विधेयक पास भएसँगै अबदेखि कर्मचारीहरुले सामाजिक सञ्जालमा राजनीतिक दल र तीनका नेताहरुको पक्ष–विपक्षमा टिप्पणी गर्न नपाउने भएका छन् ।
आइतबार पारित भएको निजामती विधेयकमा निजामती कर्मचारीहरुलाई राजनीतिक आस्थाका आधारमा टिप्पणी गर्न रोक लगाएको हो ।
विधेयकको दफा ८९ मा निजामती कर्मचारीहरुमाथि राजनीतिक आस्था देखाएर आफ्नो धारणा राख्ने कुराहरुमा रोक लगाइएको हो ।
उच्च पदस्थ कर्मचारीहरुले समेत कुनै दलका नेता तथा पदाधिकारीहरुको बारेमा सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्ने प्रवृत्ति बढेपछि ऐनमै व्यवस्था गरेर त्यसलाई निरुत्साहित गर्न लागिएको हो ।
‘निजामती कर्मचारीले विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा सामाजिक द्वेष वा कलह बढ्ने,हिंसा भड्किने गरी वा सार्वजनिक पदाधिकारी वा कुनै राजनीतिक दल वा राजनीतिक दलको पदाधिकारीको पक्ष वा विपक्षमा कुनै टिप्पणी गर्न वा यस परिच्छेद विपरीत हुने गरी कुनै कुरा व्यक्त गर्न हुँदैन,’ विधेयकको दफा ८९ मा भनिएको छ ।
त्यति मात्र नभएर निजामती कर्मचारीका लागि लागु गरिएको ऐनमा कर्मचारीले कसैलाई यातना दिन नहुने, यौनजन्य दुर्व्यवहार गर्न नहुने, प्रदर्शन हडताल कलम बन्द वा तालाबन्दी गर्न नपाउने लगायतका प्रावधानहरु समेत राखिएको छ ।
कुलिङ पिरियडका विषयमा लामो रस्साकस्सी चलिरहेको थियो । सत्तारुढ दलहरुमा समेत सो विषयमा वादविवाद जारी रहे पनि कुलिङ पिरियड कायम गरेरै विधेयक पारित भएको हो ।



कागजपत्र |
