
सावित्राले पाइन् कप्तानको जिम्मेवारी
काठमाडाैं- नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानको जिम्मेवारी सावित्रा भण्डारी ‘साम्बा’ ले पाएकी छिन् ।
लाओसमा आइतबारबाट सुरु भएको एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले साम्बलाई कप्तानको जिम्मेवारी दिएका हुन् ।
प्रशिक्षक वाइल्डले खेलअघि साम्बालाई कप्तानको जिम्मेवारी दिँदै लाओसविरुद्ध सुरुवाती–११ पनि सार्वजनिक गरेका हुन् । साम्बा नेपाली महिला फुटबल टोलीको कप्तानी सम्हाल्ने १२औँ खेलाडी बनेकी छिन् ।
प्रशिक्षक वाइल्डल यसअघिकी नियमित कप्तान एवं गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बालाई लाओसविरुद्ध पहिलो रोजाईमा समेत राखेका छन् । एन्जिलाको स्थानमा अञ्जना रानामगरलाई मौका दिइएको छ ।
छनोटमा नेपाल समूह ‘एफ’मा छ । यस समूहमा नेपालसँगै आयोजक उज्वेकिस्तान, लाओस र श्रीलङ्का छन् । नेपाले लाओसपछि दोस्रो खेल जुलाई २ तारिख श्रीलङ्का र अन्तिम खेल जुलाई ५ तारिख उज्वेकिस्तानसँग खेल्ने छ ।
छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अस्ट्रेलियामा आयोजना हुने महिला एसिया कपमा छनोट हुने छ ।



कागजपत्र |
