उपत्यकामा सल्बलाउँदै विषालु सर्प, ललितपुरमै भेटियो किङ कोब्रा


काठमाडौं – काठमाडौँ उपत्यकामा तापक्रम बढेसँगै अत्यधिक गर्मी हुने ठाउँमा देखिने विषालु सर्पसमेत सलबलाउन थालेका छन् । विषालु सर्प किङ कोब्रा, मोनोकल्ड कोब्रा, हरेउ, आँदो, एक थोप्ले गोमनलगायतका सर्प काठमाडौँमा देखा पर्न थालेका हुन् ।

गोरखापत्रमा प्रकाशित समाचार अनुसार पछिल्लो समय असार १० गते ललितपुर महानगरपालिकाको चुनिखेल क्षेत्रमा एक किङ कोब्रा फेला पर्यो । जसको उद्धार महानगर प्रहरीले गरेर चिडियाखानामा बुझायो । असार ७ गते शनिबार दक्षिणकाली नगरपालिका र मकवानपुरको सीमानामा दुई वटा किङ कोब्रा फेला परे । असार ३ गते मङ्गलबार चन्द्रागिरि नगरपालिका वडा नं. १३ स्थित श्री कङ्काली माध्यमिक विद्यालयको शौचालयको कमोडभित्र मोनोकल्ड कोब्रा फेला पर्यो । असार ४ गते बुधबार दक्षिणकाली नगरपालिका वडा नंं. ७ मा घरको पिँढीछेउमा फेरि अर्को किङ कोब्रा फेला पार्यो ।

यसरी काठमाडौँमा विषालु सर्प फेला परिरहेका बेला यस्ता सर्पको उद्धार गर्ने जनशक्ति भने राजधानीमा नगण्य प्रायः छ । राजधानीमा रहेका एक जना उद्धारकर्ता सुबोध आचार्य मात्र विषालु सर्पको उद्धारमा खटिनुपर्ने अवस्था छ ।

काठमाडौँ उपत्यकाको कुनै पनि क्षेत्रमा विषालु सर्प फेला परेको अवस्थामा डिभिजन वन कार्यालय, काठमाडौँले पनि आचार्यलाई नै गुहार्नु परेको अवस्था छ । सर्प उद्धारकर्ता आचार्यले पछिल्लो दुई वर्षमा ७० वटा किङ कोब्रा र अरू विभिन्न प्रजातिका सर्पसहित दुई हजारभन्दा बढी सर्पको उद्धार गरेका छन् ।

उनले भने, ‘काठमाडौँ, भक्तपुर, ललितपुर, सिस्नेरी, मकवानपुर, धादिङ, काभ्रेपलाञ्चोक आसपासका क्षेत्रमा पछिल्लो दुई वर्षमा ७० भन्दा बढी किङ कोब्राको उद्धार भयो । अरू सर्पसमेत गरी दुई हजारभन्दा बढीको उद्धार भइसक्यो ।’

प्रतिक्रिया