माओवादी र जसपाले निर्णय गर्न नसक्दा ओलीलाई हटाउन सकिएन : प्रवक्ता शर्मा


काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा जनता समाजवादी पार्टीले ठोस निर्णय नगर्दा नयाँ सरकार गठन प्रक्रिया आरम्भ हुन नसकेको बताएका छन् । नयाँ सरकार गठन प्रक्रियामा जसपासँगै नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता नगरेको अवस्थामा पनि कुनै निर्णय हुन नसक्ने बताए।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि जसपा पनि एकढिक्का भएर उभिए मात्रै कांग्रेस वा अरु कसैको नेतृत्वमा सरकार बन्‍ने अवस्था आउने बताए ।

‘माओवादी केन्द्रले सरकारको समर्थनको सन्दर्भमा केही टुङ्गो गर्नुपर्ने हो । कि समर्थन निरन्तर छ भन्ने उहाँहरुले निर्णय गर्नुपर्ने हो । समर्थन फिर्ता छ भने सार्वजनिक मञ्चबाट होइन लिखित रुपमा संसद सचिवालयमार्फतबाट सूचना जारी गरेर गर्नुपर्ने हो, उनले भने, ‘त्यो परिस्थिति विकास भइसकेपछि स्वभाविक रुपमा प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने हुन्छ । कांग्रेसले विश्वासको मत वर्तमान सरकारलाई पक्कै दिने छैन। संसदमा सरकारलाई दिएको समर्थन उहाँहरुले फिर्ता गरिसकेपछि बैठक बसेरै विधिवत् रुपमा यसको निर्णयमा पुग्नेछौँ।’

उनले त्यसपछि विश्वासको मत प्राप्त हुने अवस्था नभए नयाँ सरकारको ढोका खुल्ने बताए। ‘त्यो बेलामा सत्ता समीकरणको विषय ठिक समयमा परिपक्व ढङ्गले एउटा परिस्थितिको विकास भएर जान्छु, शर्माले थपे, ‘अनि नयाँ सरकार बन्‍न सक्छ।’

प्रवक्ता शर्माले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको र जसपाले एकढिक्का भएर उभिने संकेत प्रष्ट नगरेको अवस्थामा नेपाली कांग्रेस प्रधानमन्त्री पदका लागि तयार नरहेको पनि स्पष्ट पारेका छन्।

प्रतिक्रिया