माधवकुमार नेपालको थुनछेक बहस सकियो, आजै आदेश आउने


काठमाडौं- पतञ्जली व्यवसायिक योजनासम्बन्धी निर्णय प्रकरणमा भ्रष्टाचार मुद्दा सामना गरिरहेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको थुनछेक बहस सकिएको छ। बुधबार विशेष अदालतमा आफैं उपस्थित भई बयान दिएका नेपालको आजै थुनछेक बहस सकिएको हो।

विशेष अदालतका इजलासले बहस सकिएकै दिन आदेश सुनाउने तयारी रहेको जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, विशेष सरकारी वकिल कार्यालय प्रमुख मोहनसागर बस्याल, र विशेष सरकारी वकिलहरू भगवती गौतम, उमाकान्त पौडेल र ज्ञानप्रसाद भुसालले बहस गर्दै नेपालको मन्त्रिपरिषद्ले २०६६ पुस २२ मा गरेको निर्णय केही दिनमै उल्टाएर पतञ्जलीलाई लाभ पुग्ने किसिमले फेरबदल गरिएको आरोप लगाए। उनीहरूले सो निर्णय नीतिगत नभएको र त्यसका लागि नेपालविरुद्ध कारबाही अगाडि बढाइनुपर्ने जिकिर गरे।

नेपालको तर्फबाट भने वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्दप्रसाद बन्दी, खम्बबहादुर खाती, रमन श्रेष्ठ, दिनेश त्रिपाठी र टीकाराम भट्टराईलगायतले बहस गर्दै अख्तियारले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर मुद्दा दायर गरेको तर्क प्रस्तुत गरे।

उनले संविधानको धारा ८२ तथा अख्तियार ऐनको दफा ४(ख) को व्याख्या गर्दै मन्त्रिपरिषद्को निर्णयमाथि अख्तियारले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका थिए। त्यस्तै, सर्वोच्च अदालतको मात्र संविधान व्याख्या गर्ने अधिकार रहेको भन्दै अख्तियार आफैं “सर्वोच्च बन्ने” प्रयासमा लागेको आरोपसमेत लगाए।

नेपाल पक्षका कानुन व्यवसायीहरूले पूर्वप्रधानमन्त्री र सक्रिय राजनीतिक दलको अध्यक्ष भएको व्यक्तिलाई तारिखमा राख्नु उचित नहुने जिकिर गर्दै बोलाएको समयमा उपस्थित हुने सर्तमा आदेश दिन इजलाससमक्ष आग्रह गरेका छन्।

अब विशेष अदालतको आजको आदेशले नेपालको मुद्दा नयाँ मोड लिने देखिएको छ।

प्रतिक्रिया