रास्वपा र राप्रपाको बहिष्कारका बीच प्रतिनिधिसभाबाट बजेट पारित


काठमाडौं — आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको विनियोजन विधेयक (बजेट) मंगलबार प्रतिनिधिसभाबाट पारित भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभामा प्रस्तुत गरेको विनियोजन विधेयक, २०८२ बहुमतले पारित गरिएको हो।

तर, बजेट पारित गर्ने कार्यवाहीका क्रममा प्रमुख विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू अनुपस्थित थिए। दुवै दलले बजेटमाथिको छलफलसमेत बहिष्कार गरेका थिए।

उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठनको माग राख्दै आएका छन्। मागहरू पुरा नभएको भन्दै जेठ १३ यतादेखि रास्वपा र राप्रपाका सांसदहरूले प्रतिनिधिसभाको कामकारबाहीमा सहभागी नभएको जनाइएको छ।

बजेट पारित भएसँगै आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पनि संसदमा अगाडि बढाइएको छ। विपक्षी दलहरूको विरोधका बीच सभाको नियमित प्रक्रिया भने अवरुद्ध नभई निरन्तर चलिरहेको छ।

प्रतिक्रिया