
पाँच वर्षभित्र १२ हजार दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्ने सरकारको योजना
काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकार आगामी पाँच वर्षभित्र १२ हजार दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने लक्ष्यमा रहेको बताएका छन्।
प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा दशकौँदेखि अड्किएको संगठन तथा व्यवस्थापन सुधार प्रक्रिया अघि बढाइएको जानकारी दिए।
उनका अनुसार सातै प्रदेशमा एक–एकवटा संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सघन जलन उपचार, मुटु तथा मिर्गौला प्रत्यारोपण र क्यान्सरसम्बन्धी सेवा उपलब्ध हुने व्यवस्था मिलाइएको छ।
त्यस्तै, मधेश प्रदेशमा विशेष सुविधा सहितको मिर्गौला उपचार केन्द्र र काठमाडौंमा सुविधासम्पन्न राष्ट्रिय न्युरो उपचार केन्द्र स्थापनाका लागि बजेट व्यवस्था गरिएको उनले बताए।
भक्तपुरस्थित नव निर्माण सम्पन्न छाती रोग अस्पताल र बूढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र पनि छिट्टै सञ्चालनमा ल्याइने मन्त्री पौडेलले जानकारी दिए।
उनले कोशी, नारायणी, राप्ति, भेरी, पाटन लगायतका प्रमुख संघीय अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा टेकु स्थित संक्रामक रोग अस्पताल, पोखरा र नरदेवीका आयुर्वेद अस्पतालमा पूर्वाधार निर्माण र सेवा विस्तारका लागि बजेट विनियोजन गरिएको बताए।



कागजपत्र |
