इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा छौँ : परराष्ट्रमन्त्री


काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानबीच जारी युद्धका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा तथा उद्धारका लागि नेपाल सरकारले सबै सम्भव उपाय अवलम्बन गर्ने बताएकी छिन्।

शुक्रबार परराष्ट्र मन्त्रालयमा बसेको संयुक्त बैठकमा उनले स्वदेश फर्किन चाहने नेपालीहरूको उद्धारका लागि सरकार पूर्णरूपमा तयारी अवस्थामा रहेको जानकारी दिइन्। बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता थियो।

बैठकमा युद्धका कारण उत्पन्न परिस्थितिबारे समीक्षा गर्दै मन्त्री देउवाले ‘जी टु जी’ प्रक्रियाबाट इजरायल गएका नेपाली नागरिकलाई सुरक्षित स्थानमा जान अथवा स्वदेश फर्किन सहयोग गर्नु इजरायल सरकारको पनि जिम्मेवारी भएको बताइन्। उनले सीमा नाकाबाट अन्य देशमा जान सहज हुने व्यवस्था मिलाइदिन इजरायल सरकारलाई अनुरोध भइसकेको पनि स्पष्ट पारिन्।

श्रममन्त्री शरदसिंह भण्डारीले इजरायलमा रहेका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाउँदै उद्धारका लागि सरकार तत्काल तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए। साथै, अहिले इजरायल जान अन्तिम चरणमा रहेका नेपालीलाई श्रम स्वीकृति रोकेर पठाउने प्रक्रिया रोकिएको जानकारी पनि दिए।

इजरायल–इरानबीच युद्ध सुरु भएको जुन १३ कै दिन परराष्ट्र मन्त्रालयले दुवै पक्षलाई संयमता अपनाउन र वार्तामार्फत समाधान खोज्न अपिल गरेको थियो। साथै, इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूलाई सम्बन्धित दूतावासहरूसँग सम्पर्कमा रहन आग्रह गरिएको थियो।

जुन १५ मा मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै सबै नेपालीलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया