देशभर मनसुन सक्रिय


काठमाडौं – नेपालमा मनसुन प्रवेश गरेको तीन हप्तापछि देशभर फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि लुम्बिनीको पश्चिम, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि मनसुनी वायु सक्रिय भएपछि सम्पूर्ण देशमा मनसुन फैलिएको हो।

यसअघि १५ जेठमा सामान्यभन्दा दुई साताअघि कोशी प्रदेशबाट मनसुन प्रवेश गरेको थियो। त्यसपछि क्रमशः २९ जेठमा गण्डकी र लुम्बिनीको पूर्वी भूभागसम्म फैलिएको थियो। तर पश्चिमी वायुको प्रभावका कारण मनसुनको विस्तार ढिलो भएको महाशाखाले जनाएको छ।

सामान्यतया मनसुन जुन १३ तारिखमा पूर्वी नेपालबाट प्रवेश गरी एक साता भित्रै देशभर फैलिने गर्छ। तर यो वर्ष मनसुनलाई सम्पूर्ण भूभागमा फैलिन २३ दिन लागेको छ।

महाशाखाले आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा र कोशी, बागमती, गण्डकी तथा लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ।

प्रतिक्रिया