
काठमाडौंबाट बर्दिया जाँदै गरेको बस विनयी खोलाको बाढीले बगायो, यात्रुहरुको सकुशल उद्धार
कावासोती — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ ।
तीन बच्चसहित ३८ जना यात्रु बोकेर काठमाडौंबाट बर्दिया जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस विहीबार राति करिब ११ बजेतिर बगाएको हो । बाढीमा फसेका यात्रुहरुलाई मध्यरात २ बजे उद्धार गरिएको थियो ।
बसमा सवार सबै यात्रुहरुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालले जानकारी दिए ।
बाढीले बगाएको बस करिब एक किलोमिटर तल फेला परेको प्रहरीले बताएको छ । बस अहिले भर्खर फेला परेको इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक राजन तिमिल्सेनाले बताए ।
गत पुसमा भारतीय ओभरलोड ट्रकले पुल भाँचिएपछि यो सडकमा डाइर्भसन बनाइएको थियो । तर वर्षासँगैको बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यातायात अवरुद्ध हुने गरेको छ ।
डाइभर्सन बगाएकाले यातायात अवरुद्ध छ । दुम्किबासबाट दाउन्नेतर्फको सडक हिलाम्य भएकाले गाडीहरू उकालो चढ्न नसकेर बिच बाटोमै अलपत्र छन् ।



कागजपत्र |
