‘जनउत्तरदायी छैन’ भन्दै अम्मर थापाले संसद्मै बजेट पुस्तक च्याते


काठमाडौं- आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले बिहीबारको प्रतिनिधिसभा बैठकमा बजेट पुस्तक च्यातेर विरोध प्रदर्शन गरेका छन्।

सांसद थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटले दैलेखलगायत देशका विभिन्न भूभागका जनतालाई बेवास्ता गरेको आरोप लगाए। उनले समग्र बजेट नै जनताको पक्षमा नभएको टिप्पणी गर्दै संसद्मै बजेट पुस्तक च्यातेका हुन्।

“जनताबाट उठाइएको राजस्व जनतामै खर्च हुनुपर्ने हो तर यो बजेट त्यसको विपरीत छ,” थापाले भने, “बजेट पुस्तक जनउत्तरदायी छैन भन्ने महसुस भएकाले सभामुखबाट अनुमति लिएर च्यातेको हुँ।” उनले बजेटले जनताको अपेक्षा र आवश्यकता दुवैलाई बेवास्ता गरेको पनि बताए।

सांसद थापाको विरोधसँगै संसद् बैठक केहीबेर तानावग्रस्त भएको थियो भने केही सांसदले उनको शैलीप्रति असहमति जनाएका थिए।

 

प्रतिक्रिया