


भारतीय सीमाबाट अवैध कुखुराको चल्ला भित्रिँदा संकटमा नेपाली ह्याचरी व्यवसाय

चितवन- चितवन व्यवसायिक ह्याचरीबाट कोरलिएका कुखुराको चल्लाले मूल्य नपाउँदा व्यवसायीहरू समस्यामा परेका छन् । माग कम भएपछि उत्पादित चल्लाले बजार नपाएको हो ।
बिक्री गर्ने समयसम्म एउटा कुखुराको चल्लामा ५५ रुपैयाँ हाराहारी खर्च हुने व्यवसायीहरू बताउँछन् । झण्डै दुई महिनायता ह्याचरी व्यवसायीले प्रतिगोटा १५-२० रुपैयाँमा चल्ला बेच्न बाध्य भएको जनाएका छन् । कतिपयले चल्ला बिक्री गर्न नै नसकेको गुनासो गरेका छन् ।
नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार एउटा चल्ला उत्पादन गर्न ५५ रुपैयाँ खर्च हुन्छ । निरन्तर लागत मूल्यभन्दा कममा चल्ला बेच्नु परेपछि ह्याचरी उद्योगीहरू बैंकिङ ऋण थपेर चल्न बाध्य भएको उनले बताए ।
उपाध्यक्ष पोखरेलका अनुसार चल्लाको उत्पादन बढेको, भारतीय चल्लाको मूल्य घटेको, मासुको मूल्य कम भएका कारण चल्लाको मूल्य घटेको हो । एक सातामा २५ लाख गोटा हाराहारी चल्ला उत्पादन हुँदै आएकोमा यो संख्या बढेर ३५ लाख नाघेको छ । भारतीय क्षेत्रबाट निर्वाध रूपमा चल्ला भित्रिएको व्यवसायी बताउँछन् ।
नेपाल ह्याचरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछाने अहिले राखिएका चल्लाको उत्पादन साउनमा हुने र त्यतिबेला मासुको खपत कम हुने भएकाले किसान चल्ला राख्न डराएका छन् । बढ्दो गर्मी, खेतीको मौसम, रोगको जोखिम आदि कारणले किसानले चल्ला नराख्दा बिक्री हुन नसकेको उनी बताउँछन् ।
उनका अनुसार प्रतिगोटा १३० रुपैयाँ खर्च हुने लेयर्स कुखुराको चल्ला पनि १ सय रुपैयाँको हाराहारीमा बेच्नु परेको छ । २१ दिन पहिला ह्याचरीमा चल्ला राख्नुपर्ने हुँदा बिक्री नभए पनि नियमित चल्ला उत्पादन गर्नुपर्ने हुन्छ ।
नेपालका ह्याचरी उद्योगहरू हरेक हप्ताको आइतबार र मंगलबार ह्याचरीबाट चल्ला निकाल्ने गर्दछन् । नेपालमा एक सय १८ ह्याचरीले बोइलर चल्ला र ६ वटाले लेयर्स चल्ला उत्पादन गर्दै आएका छन् । कोभिड अघिसम्म देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने तीन सय ४८ ह्याचरी उद्योग सञ्चालनमा थिए ।
यस्तै, १४ वटा लेयर्स ह्याचरी रहेका थिए । त्यतिबेला एक सातामा बोइलर चल्ला ५५ लाख उत्पादन हुने गरेको थियो । लेयर्स चल्ला उत्पादन सातामा दुई लाख ५० हजारबाट एक लाख ३० हजारमा झरेको छ ।
चल्लाले मूल्य नपाउनु, दाना र औषधिको मूल्य बढ्नु, बैंकको ब्याज बढी हुनु, मासुको मूल्य कम भएर कुखुरा पाल्ने किसान विस्थापित हुनु, भारतीय अवैध चल्ला भित्रिनुलगायत कारण चितवनका ह्याचरी उद्योग र कुखुरा पाल्ने किसान विस्थापित हुँदै गएका छन् ।

