बिहे गर्नेहरूले पर्खनु पर्ने भो ५ महिना, अब कहिले छ त लगन ?


काठमाडौं – अपराह्न ५ बजेर ७ मिनेटदेखि बृहस्पति ग्रह पश्चिममा अस्त हुँदैछ। बिहीबार अस्त हुने बृहस्पति असार २२ गते आइतबार बिहान ६ बजेर ५३ मिनेटमा पूर्वमा उदय हुने पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए।

देवताका गुरु मानिएका बृहस्पति ग्रह अस्त हुँदा पृथ्वीमा आउने प्रभाव र फल कमजोर रहने भएकाले शुभ कार्य थालनी गर्न नह’ने शास्त्रीय मान्यता छ।

बृहस्पति अस्त रहेका वेला नित्यकर्म (नियमित गरिने) र नैमित्तिक कर्म (आकस्मिक रूपमा पर्ने) गर्न हुने तर काम्य (कामना राखेर गरिने) कर्म नहुने मान्यता छ। यो अवधिमा जप, तर्पण र दनहुँ गरिने पूजा आदि नित्यकर्म रोकिँदैन। यस्तै चाडपर्व विशेषमा गरिने कर्म पनि रोकिँदैनन्। जस्तै नागपञ्चमीमा गरिने नागको पूजा, जनैपूर्णिमामा गरिने सप्तर्षिपूजा रक्षाबन्धन आदि।

नामकरण, मृत्युकर्मलगायतका नैमित्तिक कर्म पनि गर्न सकिन्छ। तर कामना राखेर गरिने गृहारम्भ, गृहप्रवेश आदिका साथै व्रतबन्ध-विवाह आदि संस्कार यो समयमा गरिँदैन। बृहस्पति र शुक्र अस्त हुनुभन्दा ३ दिनअघि र उदय भएपछि पनि ३ दिनसम्म सुतक लाग्ने बताइन्छ। यो अवधिमा पनि नयाँ धार्मिक कार्य गर्न मिल्दैन।

शुक्र ग्रह अस्त हुँदा पनि यही नियम लाग्ने अधिकारीले जानकारी दिए। मूल वैदिक परम्परामा भने बृहस्पति र शुक्र ग्रह अस्त हुँदा यस्ता निषेध नअपनाइने वैदिक पात्रोका सम्पादक प्रमोदवर्धन कौण्डिन्न्यायनले बताए।

विवाहको साइत पाँच महिनापछि मात्रै

असार २२ गते बृहस्पति उदय हुने भए पनि त्यही दिन हरिशयनी एकादशी परेको छ। हरिशयनी एकादशीमा चतुर्मास शुरु हुन्छ, जुन कार्तिक शुक्ल पूर्णिमामा पूरा हुन्छ, जुन यो वर्ष कात्तिक १५ मा परेको छ। चतुर्मासका वेला पनि व्रतबन्ध-विवाह आदिका साइत निस्किँदैन।

कात्तिकमा पनि विवाह गर्न नहुने शास्त्रीय मान्यता छ। त्यसैकारण पञ्चाङ्गमा अब मंसिर ६ गते मात्र विवाह मुहूर्त्त राखिएको छ।

प्रतिक्रिया