

जानकीदेवी नेकपा एमालेको सांसद निर्वाचित

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रतिनिधिसभामा रिक्त समानुपातिक सदस्यमा निर्वाचन आयोगले सिराहाकी जानकीदेवी रामलाई निर्वाचित गर्ने निर्णय गरेको छ।
आयोगको बुधबार बसेको बैठकले सो निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। एमालेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेकी जानकीदेवी निर्वाचित भएको जानकारी संघीय संसद सचिवालयलाई गराउने तयारी भएको श्रेष्ठले बताए।
नेकपा एमालेको चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले सानु शिवाको निधन भएपछि रिक्त रहेको समानुपातिक सांसदमा जानकीलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो।
दलित कोटामा बन्दसूचीमा जानकीदेवीभन्दा अगाडि रहेका धनकुमारी सुनारले पार्टी परित्याग गरेपछि सो सूचीमा उनलाई अवसर प्राप्त भएको हो। जानकाीदेवी निर्वाचित भएसँगै अब एमालेमा १२१ जना सांसद प्रतिनिधिसभामा कायम हुनेछन्।

