भ्रष्टाचार मुद्दापछि पूर्वमुख्यमन्त्री सोडारी निलम्बन, समाजवादी नयाँ नेता चयनको तयारीमा


कैलाली- पूर्वमुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीको सांसद पद भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बनमा परेको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सार्वजनिक पदधारी व्यक्तिविरुद्ध मुद्दा परेपछि अदालतबाट फैसला नभएसम्म पद स्वतः निलम्बनमा जाने कानुनी व्यवस्था छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३ सय २ रुपैयाँ ५७ पैसाको माग दाबीसहित विशेष अदालतमा सोमबार मुद्दा दर्ता गरेको हो। आयोगको दाबी अनुसार, सोडारीले गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरेका छन्।

सोडारीको पद निलम्बनमा परेपछि नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलले नयाँ नेता चयनको तयारी थालेको छ। उपनेता प्रकाश रावलले बुधबार संसदीय दलको बैठक बोलाएर नयाँ नेता चयन गर्ने प्रक्रिया अघि बढाउने बताएका छन्।

सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका चार सांसदमध्ये सोडारी निलम्बनमा परेपछि अब तीन जना सांसद मात्रै क्रियाशील रहने भएका छन्। हाल उपनेताको भूमिकामा रहेका प्रकाश रावल नै नयाँ नेता बन्ने सम्भावना बढी रहेको बताइएको छ। यद्यपि सांसदद्वय नरेशकुमार शाही र माया पन्तले पनि नेतृत्वमा रुचि देखाएका छन्।

दलभित्र रावल र शाहीबीच प्रतिस्पर्धा देखिए पनि पार्टीका शीर्ष नेताहरूको संकेतअनुसार सहमतिमै नेतृत्व चयन हुने चर्चा एकीकृत समाजवादीभित्र चलिरहेको छ।

प्रतिक्रिया