


गृहमन्त्रीको राजीनामाको मागमा माओवादी केन्द्र अडिग, विपक्षीको निर्णय भोलिको बैठकपछि

काठमाडाैं- सिंहदरबारमा सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामालाई लिएर प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले अडान कायमै राखेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको उक्त छलफलमा संसद् अवरोध अन्त्य गरी प्रतिनिधिसभा अघि बढाउने उपायबारे छलफल भएको थियो।
बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग यथावत रहेको बताएका छन्। “गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्दैन भन्ने हाम्रो अडान यथावत छ,” पाण्डेले बैठकपछि भने। उनका अनुसार गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने मागको अर्थ नै राजीनामा हो।
छलफलमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए। साथै गृहमन्त्री लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महेन्द्रराय यादव, माओवादी नेता देव गुरुङ र हितराज पाण्डे पनि बैठकमा उपस्थित थिए।
बैठकमा सत्तापक्षका नेताहरूले संसद् सञ्चालनमा अवरोध नगर्न विपक्षीलाई आग्रह गरेका थिए। देउवा र ओली दुवैले देशको परिस्थितिमा प्रतिगामी शक्ति सक्रिय रहेको भन्दै संसद् अवरुद्ध गर्नु उपयुक्त नहुने तर्क गरेका थिए।
यता माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूले भने अन्तिम निर्णय भोलि बिहान बस्ने विपक्षी दलहरूको बैठकले गर्ने बताएका छन्। नेता महेन्द्रराय यादवका अनुसार विपक्षी दलहरू संसद् खोल्ने कि नखोल्ने भन्ने निर्णय आफ्नै बैठकपछि लिने बताएका छन्।
बैठकमा राजावादी समूहहरूको प्रदर्शनबारे पनि छलफल भएको थियो। सत्तापक्षले कर्मचारीको संलग्नता रहेको विषयमा गृहमन्त्रीको राजीनामा आवश्यक नरहेको तर्क गरे पनि विपक्षीले गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै अनुसन्धानका लागि उनको राजीनामा अपरिहार्य रहेको अडान राख्दै आएका छन्।

