


काठमाडौंमा यातायात व्यवसायीको धर्ना

काठमाडौं- सार्वजनिक यातायात व्यवसायीहरूले सात बुँदे मागसहित चरणबद्ध आन्दोलन थालेका छन्। सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको अगुवाइमा आइतबार माइतीघर मण्डलामा विरोध र्याली निकालिएको हो।
र्यालीमा सहभागी व्यवसायीहरूले सवारीसाधनमा कालो झण्डा राखेका थिए भने निधारमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका थिए। उनीहरूले बागमती प्रदेश सरकारद्वारा पारित सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्नुपर्ने माग गरेका छन्। साथै, राइड सेयरिङ एप्स सञ्चालन बन्द गर्नुपर्ने उनीहरूको अडान छ।
आन्दोलनको पहिलो चरणमा व्यवसायीहरूले रिङरोड सडक खण्डमा सवारीसाधन तेर्साएर प्रदर्शन गरेका थिए। त्यसक्रममा ६ वटै प्रदेशबाट कालो झण्डासहित विरोध र्यालीसमेत गरिएको थियो।
व्यवसायीहरूले जेठ १९ गतेसम्म आफ्ना मागहरू पूरा नभए देशभर सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्ने चेतावनीसमेत दिएका छन्।

