१५ दिन चाँडै आयो मनसुन, पूर्वी नेपालमा असर सुरू


काठमाडौं- नेपालमा यो वर्षको मनसुन असामान्य रूपमा चाँडो सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, सामान्यतया जुन १३ मा प्रवेश गर्ने मनसुन यसपटक १५ दिन अघि नै अर्थात् जेठ १७ गते (बिहीबार) नेपाल प्रवेश गरिसकेको छ।

महाशाखाले जारी गरेको ‘मनसुन आगमन बुलेटिन’ अनुसार कोशी प्रदेशको दक्षिण–पूर्वी क्षेत्र, विशेषगरी झापा र वरपरका भूभागमा मनसुन सक्रिय भइसकेको छ। धरान मौसम केन्द्रबाट प्राप्त प्रत्यक्ष सूचनासँगै स्याटेलाइट विश्लेषणमार्फत यो निष्कर्ष निकालिएको हो।

महाशाखाले भनेकाे छ, “पूर्वी भूभागमा मनसुनी प्रभाव देखिन थालेको छ, तर बाँकी भागमा विस्तार हुन अझै केही समय लाग्न सक्छ।”

जलवायु परिवर्तनसँगै मनसुनको समयसारिणी प्रभावित हुँदै गएको विज्ञहरू बताउँछन्। चाँडो सुरु भएको मनसुनले कृषि क्षेत्रमा फाइदा पुर्याउने भए पनि, विपद् जोखिम समेत बढाएको भन्दै महाशाखाले नागरिकलाई सजग रहन आग्रह गरेको छ।

विशेषतः बाढी, डुबान र पहिरोको सम्भावना उच्च रहेकोले सरकार, स्थानीय निकाय र समुदायलाई पूर्वतयारीमा जुट्न विभागले सुझाव दिएको छ।

प्रतिक्रिया