प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका सार्वजनिक


काठमाडाैं- प्रतिनिधि सभाको जेठ महिना र असार १२ गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ । आज बसेको कार्यव्यवस्था समितिको बैठकले जेठ १६ देखि ३१ गतेसम्म र असार १ देखि १२ गतेसम्मको सम्भावित कार्यसूची तय गरेको हो । त्यसअनुसार जेठ महिनाको बाँकी दिनमा १० वटा र असार १२ गतेसम्म ९ वटा बैठक निर्धारण गरिएको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रतिनिधि सभामा जेठ २० गते आउँदो मङ्कलवारदेखि बजेटमाथिको छलफल प्रारम्भ हुनेछ । त्यसैदिन संघीय निजामती सेवा विधेयक सम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेश गरिनेछ । २३ गते उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिनुहुनेछ ।

२५ गते भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गरिनेछ । २६ गतेदेखि मन्त्रालयगत छलफल र खर्च कटौतीका प्रस्ताव रहनेछन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र छानबिन हुनुपर्ने आफूहरुका माग संबोधन नभएसम्म संसद् चल्न नदिने माओवादी केन्द्रसहितका विपक्षी दलले अडान राख्दै आएका छन् ।

प्रतिक्रिया