खेल क्षेत्रमा हालसम्मकै ठूलो बजेट, ६ अर्ब ८ करोड विनियोजन


काठमाडौं- युवा तथा खेलकुद क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो बजेट विनियोजन गरिएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अर्थमन्त्री विष्णु पौडेलले ६ अर्ब ८ करोड रुपैयाँ छुट्याएका हुन्।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ५० करोड रुपैयाँ छुट्याइएकोमा यसपटक २ अर्ब ५८ करोडले वृद्धि भएको हो। यसअघि आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएको थियो, जुन हालसम्मकै उच्च रकम मानिन्थ्यो।

अर्थमन्त्री पौडेलले खेल पूर्वाधार निर्माण तथा खेलाडीको व्यावसायिकता विकासमा लगानी बढाइने जानकारी दिँदै निजी क्षेत्रलाई समेत आकर्षित गरिने उल्लेख गरे।

झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण गरिनेछ भने सोलुखुम्बु, मुस्ताङजस्ता हिमाली जिल्लामा हाइ अल्टिट्युड स्पोर्ट्स स्टेडियम बनाइनेछ।

त्यस्तै, कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ छुट्याइएको छ। मुलपानी, फाप्ला, सिद्धार्थ र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि ४२ करोड छुट्याइएको छ।

चितवनको गौतम बुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पत्ति खरिदका लागि सशर्त अनुदानको व्यवस्था गरिएको छ। साथै, सुर्खेतको विरेन्द्रनगरमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदका लागि ५४ करोड विनियोजन गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बजेटलाई उत्साहजनक भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्। उनले भने, “राम्रो छ, उत्साह जगाउने खालको छ।”

प्रतिक्रिया