


बत्ती गएको भन्दै ‘फेक कल’ गर्ने सार्वजनिक

विराटनगर— ऊर्जा मन्त्रालय र कोसी प्रदेश कार्यालयको संयुक्त टोलीले कोसीका विभिन्न विद्युत् वितरण केन्द्रहरूको अनुगमन गरिरहँदा धनकुटाबाट ‘बत्ती गएको’ भनेर गरिएको एउटा फेक कलले मन्त्रालयको ध्यान खिचेको छ।
सागर थापा नाम गरेका एक व्यक्तिले आइतबार साँझ ८:१५ बजे ९७६३७०२७३४ नम्बरबाट फोन गरी धनकुटामा विद्युत् सेवा अवरुद्ध भएको बताएका थिए। तर नेपाल विद्युत् प्राधिकरणले तत्काल बुझ्दा सो क्षेत्रमा कतै पनि बत्ती गएको पुष्टि भएन। अनुसन्धानमा ती व्यक्तिले कर्मचारीलाई धम्कीपूर्ण र अपमानजनक भाषा प्रयोग गरेको खुलेको छ।
ऊर्जामन्त्री दीपक खड्काले यसअघि नै झुटा सूचना फैलाउनेहरूमाथि कानुनी कारबाही हुने चेतावनी दिएका थिए। मन्त्रालयले यस्ता कार्यप्रति शून्य सहनशीलता अपनाउने बताउँदै सत्य र तथ्यका आधारमा मात्र सेवा प्रवाहको मूल्यांकन गरिने जनाएको छ।

