लाइसेन्सका लागि नयाँ नियम, यी हुन् ट्रायल दिन जाँदा ध्यान दिनुपर्ने नियमहरू


काठमाडौं – यातायात व्यवस्था विभागले आगामी जेठ १ गतेबाट सवारी चालक अनुमतिपत्रका लागि नयाँ नियम लागू गर्ने भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्रको परिक्षा कार्यविधि निर्देशिका २०७७ मा सहमति दिएसँगै आगामी जेठ १ गतेबाट त्यसलाई कार्यान्वयनमा लगिने भएको हो ।

नयाँ निर्देशिका अनुसार परिक्षार्थीले ६० प्रतिशत अंक ल्याए लाइसेन्स पाउने छन् । यसअघि विभागले दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको लाइसेन्स वितरण प्रक्रियालाई सरलिकरण गर्ने भन्दै सवारी चालक अनुमतिपत्र संचालन कार्यविधि तयार गरेर मन्त्रालय पठाएको थियो ।

नयाँ निर्देशिकाले मोटरसाइकल, स्कुटर, मोपेड जस्ता सवारी साधनको प्रयोगात्मक र लिखित परिक्षाको स्वरुप परिमार्जन गरेको हो ।

लिखित परिक्षामा पनि पहिले जस्तो धेरै प्रश्न आउने छैनन् । ५÷५ अंकको जम्मा २० वटा प्रश्न मात्रै सोधिने छ । विभागले ५०० वटा प्रश्न संकलन गर्ने र त्यहि मध्यबाट २० वटा प्रश्न सोध्ने छ । लिखित परिक्षामा उत्रिर्ण हुन भने ८० अंक अनिवार्य ल्याउनु पर्ने हुन्छ ।

नयाँ नियम अनुसार आठको अंकभार २० हुने छ । यदि आठमा एक पटक खुट्टा टेके १० अंक घट्ने छ । तर दुई पटक खुट्टा टेकेमा फेल हुने छ । साँघुरो फलेकको अंक १० हुने छ । यसमा कुनै गल्तिगरे फेल हुने छ ।

यूटर्नको अंकभार १० हुने छ । यसमा असफल भए १० अंक घट्ने छ । स्पीड ब्रेकरको १५ अंकभार हुने छ । यसमा एक–पटक खुट्टा टेकेमा ५ अंक घट्ने छ भने स्टार्ट बन्द भए अर्को ५ अंक घट्ने छ । तर, दुई पटक खुट्टा टेकेमा फेल हुने छ ।

उकालोलाई २० अंकभार दिइने छ । यसमा कुनै गल्तिभए स्वतः फेल हुने छ । सवारी साधन निरिक्षण नगरि चलाएमा ३ अंक, हेल्मेट नलगाए ४ अंक र अनियन्त्रीत तरिकाले चलाए ३ अंक घट्ने छ ।

यसरी समग्रमा प्रयोगात्मक परिक्षामा ६० अंक ल्याउने चालकले लाइसेन्स पाउने छन् । साथै, सरकारले मापदण्ड तोकेर आफ्नै सवारी साधनमा ट्रायल दिन पाउने व्यवस्था गरेको छ । त्यसको लागि ९५ सीसी क्षमताभन्दा माथिको मोटरसाइकल वा स्कुटर हुनु पर्नेछ ।

 

प्रतिक्रिया