

पोखरा विमानस्थलबारे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

काठमाडौं- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गरी कारबाही अगाडि बढाउन प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।
बुधबार बसेको समितिको बैठकले पोखरा विमानस्थल निर्माणमा देखिएको लागत वृद्धिलगायतका विषयमा विस्तृत अनुसन्धान गर्न अख्तियारलाई औपचारिक रूपमा पत्र पठाउने निर्णय गरेको हो। समितिका सभापति ऋषिकेश पोखरेलले उपसमितिको प्रतिवेदनका आधारमा निर्णय गरिएको जानकारी दिए।
राजेन्द्र लिङ्देनको संयोजकत्वमा बनेको उपसमितिले कम्तीमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै सार्वजनिक खरिद ऐनको उल्लंघन, ठेक्का प्रक्रिया र कर छुटको नाममा भएको रकम हिनामिना औंल्याएको छ।
उपसमितिले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ८ प्राविधिक तथा कर्मचारीलाई निलम्बन गरी अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ।
प्रतिवेदनमा रणनीतिक योजना र वातावरणीय प्रभाव मूल्याङ्कनबिनै विमानस्थल निर्माणका लागि ऋण लिएको, ठेक्का प्रक्रिया कम्पनीको इच्छाअनुसार अघि बढाइएको र लागत मूल्य सुरुदेखि नै शंकास्पद ढंगमा वृद्धि गरिएको उल्लेख गरिएको छ।

