

याे हाे ४ विद्यार्थी ३ शिक्षक भएको स्कुल

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित खुटियाटोलमा रहेको बाल आधारभूत विद्यालयमा शिक्षक र विद्यार्थीको संख्या झण्डै बराबरी छ। शैक्षिक सत्र २०८२ का लागि विद्यालयमा जम्मा चार जना मात्र विद्यार्थी भर्ना भएका छन्, भने यहाँ तीन जना शिक्षक तथा कर्मचारी कार्यरत छन्।
बालविकासदेखि कक्षा ३ सम्म पठनपाठन हुने उक्त विद्यालयमा हाल कक्षा १ मा दुई र कक्षा ३ मा दुई जना विद्यार्थी छन्। बाँकी कक्षामा भने शून्य भर्ना दर रहेको विद्यालयका प्रधानाध्यापक रासबहादुर बुढाले जानकारी दिए।
उनका अनुसार, गत चैत महिनादेखि देशभर चलेको शिक्षक आन्दोलनकै बेला विद्यार्थी भर्ना अभियान परेको हुँदा अभिभावकहरूले आफ्ना छोराछोरी निजी विद्यालयतर्फ लगिएको बताउँछन्। “विद्यालय बन्द हुने भन्ने हल्ला चलेपछि अभिभावकले विश्वास गरेनन्, त्यसैले विद्यार्थी आएनन्,” प्रधानाध्यापक बुढा भन्छन्, “अब स्थानीय सरकारले जे निर्णय गर्छ, हामी तयार छौँ।”
गत सत्रमा १९ जना विद्यार्थी अध्ययनरत यो विद्यालयमा आधारभूत भौतिक पूर्वाधार जस्तै भवन, शौचालय, खानेपानी र खेलमैदान पर्याप्त भए पनि विद्यार्थीको संख्या अत्यन्त कम भएपछि विद्यालय सुनसान देखिएको छ।
विद्यार्थी संख्या न्यून भएको जानकारी पाएपछि धनगढी–१४ का वडाध्यक्ष मानबहादुर विष्टले विद्यालयको अनुगमन गरेका छन्। उनले विद्यालय समायोजन गर्ने वा अन्य विकल्पबारे उपमहानगरपालिकामा छलफल गरिने बताएका छन्।

