

रेशम चौधरीको गिरफ्तारीबारे गृहमन्त्रीले वैशाख २५ मा जवाफ दिने

काठमाडौं— केही दिनदेखिको अवरोध हटेसँगै प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि बहस सुरु भएको छ। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आन्दोलन पछि हटेपछि संसद् सञ्चालनमा आएको सहजताले बजेट सत्रको औपचारिक कार्यसूची अगाडि बढ्न सकेको हो।
उनीहरूले वैशाख १७ गते भएको पूर्व सांसद रेशम चौधरीको पक्राउ प्रकरणमा जवाफ माग्दै संसद् अवरुद्ध गर्दै आएका थिए। मंगलबारको बैठकमा आकस्मिक र शून्य समय सकिएपछि सभामुख देवराज घिमिरेले छलफल अघि बढाउन खोज्दा दुवै दलका सांसद उभिएर विरोध जनाए।
तर, सभामुखले गृहमन्त्रीले वैशाख २५ गते संसद्मा रेशम चौधरीको विषयमा जवाफ दिने मौखिक आश्वासन आएको जानकारी दिएपछि जनमत र नाउपाका सांसदहरू आफ्नो स्थानमा बसेका थिए। त्यसपछि नीति तथा कार्यक्रममाथिको छलफल औपचारिक रूपमा सुरु भएको हो।

