

क्रिकेटर आदिल आलममाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं– नेपाली क्रिकेट खेलाडी मोहमद आदिल आलममाथि लागेको प्रतिबन्ध हटाइएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अनुमति दिएको हो। प्रतिबन्ध फुकुवाको निर्णय आइतबार, २१ गतेदेखि लागू भएको छ।
आलमलाई २०७९ पुस ९ देखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन भएको नेपाल टी-२० क्रिकेट लिगका क्रममा स्पट फिक्सिङको आरोपमा प्रतिबन्ध लगाइएको थियो। क्यानले उनलाई एन्टी करप्सन कोडअनुसार कुनै पनि क्रिकेट प्रतियोगितामा सहभागी हुन नदिने निर्णय गरेको थियो।
तर, उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई दोषमुक्त गरिसकेको छ । जसपछि क्यानले प्रतिबन्ध फुकुवा गरेको हो।
आलम अब पुनः नेपाली क्रिकेटमा सक्रिय रुपमा सहभागी हुन पाउने छन्।

