

कोरिया जान नपाएको भन्दै इपीएस कार्यालयमा धर्ना

ललितपुर — कोरियन भाषा परीक्षा (इपीएस) उत्तीर्ण गरेर लामो समयदेखि कोरिया जान पर्खिरहेका नेपाली युवाहरूले ललितपुरको ग्वार्कोमा रहेको वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखा कार्यालयमा धर्ना दिएका छन्।
सोमबार आयोजित धर्नामा सहभागी युवाहरूले परीक्षा पास गरेको १८ महिना बितिसकेको भए पनि कोरिया जान अनुमति नपाएकोमा गुनासो गर्दै तत्काल प्रक्रिया अघि बढाउन माग गरे। उनीहरूका अनुसार भाषा परीक्षा पास गरेपछि समेत लामो समयसम्म बोलावट नआएकोले रोजगारीको अवसर गुम्ने डर रहेको छ।
धर्नामा सहभागी एक युवाले भने, “हामीले सरकारको नियमअनुसार परीक्षा पास गर्यौं, तर अहिले कुनै प्रगति छैन। न त निश्चित समय छ, न त पारदर्शिता। अब हामी मौन बस्दैनौं।”
उनीहरूले ईपीएस शाखासँग प्रक्रिया छिटो अघि बढाउन र पारदर्शी रूपमा छनोट प्रक्रिया लागू गर्न आग्रह गरेका छन्।
ईपीएस शाखाले भने दक्षिण कोरियासँग समन्वय गरेर प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

