विद्युत् प्राधिकरण ५ अर्ब २६ करोड घाटामा, लोडसेडिङ सकिएको शाक्यको दाबी


काठमाडौं – नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) ५ अर्ब २६ करोड घाटामा रहेको तथ्य कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सार्वजनिक गरेका छन्। शाक्यले आफ्नो पदवहालीको एक महिनाभित्रै श्वेतपत्र सार्वजनिक गर्दै प्राधिकरणको वर्तमान अवस्था, चुनौती, तथा भावी योजना प्रस्तुत गरे।

श्वेतपत्रअनुसार प्राधिकरण हाल ५ अर्ब २६ करोड घाटामा छ। कुल दायित्व ३ खर्ब ८५ अर्ब पुगेको छ, जसमा २ खर्ब ४८ अर्ब दीर्घकालीन ऋण रहेको छ। २०८०/८१ सम्म ६९ अर्ब ५७ करोडको वित्तीय प्रतिबद्धता र ८ अर्ब ४० करोडको कानुनी दायित्व रहेको शाक्यले जनाए।

शाक्यले लोडसेडिङ सकिएको दाबी गर्दै अहिले देखिएको बत्ती जाने घटना स्मार्ट मिटर ट्रिपिङ भएको स्पष्ट पारे। उनले वर्षभरि औसत ८२५ पटक ट्रिपिङ भएर ५०९ घण्टा विद्युत् अवरुद्ध भएको तथ्याङ्क प्रस्तुत गरे। उनले यो अवस्था क्रमशः सुधार गर्दै लगिने प्रतिवद्धता जनाए।

प्राधिकरणको प्रक्षेपण अनुसार वर्षायाममा विद्युत् जगेडा रहे पनि सुख्खायाममा अपुग हुने देखिएको छ। २०८२/८३ को वर्षायाममा २६४८ मेगावाट जगेडा हुने अनुमान गरिएको छ भने सोही वर्षको सुख्खायाममा ७९१ मेगावाट आयात गर्नुपर्नेछ। शाक्यले दीगो समाधानका लागि जलाशययुक्त आयोजना र ऊर्जा भण्डारण प्रणाली आवश्यक रहेको बताए।

शाक्यले प्राधिकरणको सम्पत्ति ६ खर्ब नाघेको जानकारी गराउँदै प्रणाली सबस्टेशन बलियो भए पनि प्रसारण सञ्जाल कमजोर भएकाले प्रणाली ट्रिपिङ भइरहेको बताए। हाल १३,७१४ एम.भी.ए. क्षमताको सबस्टेशन सञ्चालनमा रहेको र ६,६६९ एम.भी.ए. निर्माणाधीन रहेको उनले जनाए।

 

प्रतिक्रिया